विद्योदयमा ‘संस्कारसहितको गुणस्तरीय शिक्षा र सीप’ परियोजना बारे सुझाब संकलन गरिदै, हामीलाई सुझाब दिनु ल
वाखेत (म्याग्दी), जेठ २० - बेनी नगरपालिका–१० स्थित श्री विद्योदय आधारभूत विद्यालय, वाखेतले शैक्षिक सत्र २०८२ देखि ‘संस्कारसहितको गुणस्तरीय शिक्षा र सीप’ नामक विशेष परियोजना सञ्चालनमा ल्याउने भएको छ। यस परियोजनाको उद्देश्य विद्यार्थीमा शैक्षिक दक्षतासँगै सामाजिक व्यवहार र नैतिक संस्कारको विकास गर्नु रहेको विद्यालय प्रशासनले जनाएको छ।
विद्यालयका प्रधानाध्यापक प्रकाश अधिकारीका अनुसार, “केवल किताबी ज्ञानले मात्र होइन, व्यावहारिक शिक्षा र जीवन उपयोगी सीप सिकाउने उद्देश्यले यो अभियान सुरु गर्न लागिएकाे हो। यसले विद्यार्थी, अभिभावक, शिक्षक र समुदायबीच आपसी संवाद र सहकार्यलाई अझ सुदृढ बनाउनेछ।”
यस परियोजनाअन्तर्गत विद्यालयले समुदायका सदस्यहरूबाट विद्यालय सुधारका लागि गुनासो, समस्या र सुझाव संकलन गर्न अनलाइन फारमको पनि सञ्चालन थालेको छ। फारममार्फत अभिभावक, विद्यार्थी, शिक्षक तथा अन्य सरोकारवालाहरूले खुला रूपमा आफ्नो विचार प्रकट गर्न सक्नेछन्। फारममा प्राप्त प्रतिक्रियालाई आधार बनाएर विद्यालयले आवश्यक नीतिगत र व्यवस्थापकीय सुधार गर्ने तयारी गरेको छ।
“हामी शिक्षाको स्तर सुधार्न चाहन्छौं, र त्यो सबैको सहकार्यबाट मात्र सम्भव छ,” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिका बहादुर पाइजाले भन्नुभयाे ।
समाजको साझा सम्पत्ति भएको विद्यालयलाई समृद्ध बनाउने यात्रामा यो परियोजना सकारात्मक परिवर्तनको थालनीका रूपमा लिइएको छ। शैक्षिक गुणस्तर, संस्कारजन्य व्यवहार, र सीप विकासमा केन्द्रित यो अभियानले सम्पूर्ण म्याग्दी जिल्लाका अन्य विद्यालयहरूलाई पनि उदाहरण दिन सक्ने विश्वास लिइएको छ।
No comments