बेनी, भदौ २९ – ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ ६१ औँ राष्ट्रिय बाल दिवसको अवसरमा श्री विद्योदय आधारभूत विद्यालयले बालविवाह न्यूनीकरण र बालअधिकार विषयक सचेतनामूलक र्यालीसहित विभिन्न कार्यक्रम सम्पन्न गरेको छ।
बेनी नगरपालिका -१०, वाखेतस्थित विद्यालयकाे व्यवस्थापन र विद्योदय वाल क्लबकाे आयाेजनामा बालदिवस मनाइएकाे हाे ।
विद्यालय परिसरबाट निस्किएको र्यालीमा विद्यार्थीहरूले “बालविवाह अन्त्य गरौँ, शिक्षा सबैको अधिकार” जस्ता नारा दिएका थिए। कार्यक्रम अन्तर्गत कक्षा ६–८ का विद्यार्थीबीच सदन स्तरीय हाजिरीजवाफ, कक्षा १–३ र कक्षा ४–५ बीच बलुन फटाइ प्रतियोगिता र मेमोरी गेम सम्पन्न भएका थिए।
प्रतियोगिताका विजेतालाई आजै पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ। कार्यक्रममा बोल्ने वक्ताहरूले बालअधिकार संरक्षण, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर मात्र बालविवाह न्यूनीकरण सम्भव हुने धारणा राखेकाे सूचना अधिकारी अमृता जिसी राेकाले जानकारी दिनुभयाे।
विद्यालयका शिक्षकहरूले बालबालिकाको सिर्जनात्मकता र आत्मविश्वास वृद्धि गर्न यस्ता कार्यक्रम निरन्तर गर्नुपर्नेमा जोड दिएका छन्। नेपालले बाल अधिकारसम्बन्धी महासन्धी अनुमोदन गरेको दिनलाई आधार मानी हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।
0 Comments