विद्योदयमा ‘एक विद्यार्थी–एक गमला’ अभियान सुरु

वाखेत, म्याग्दी | राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को सुअवसर पारेर म्याग्दीको बेनी नगरपालिका–१०, वाखेतस्थित विद्योदय आधारभूत विद्यालयमा “एक विद्यार्थी–एक गमला” अभियान सुरु गरिएको छ ।

वातावरण संरक्षण तथा ‘ग्रीन स्कुल, क्लिन स्कुल’ को अवधारणालाई व्यवहारमा उतार्न यो कदम चालिएको विद्यालयले जनाएको छ । 

विद्यालयमा अध्ययनरत ८० जना विद्यार्थीहरुले विहिबार विद्यालय परिसरमा आयोजित एक विशेष समारोहका बीच विद्यार्थीहरूले आ–आफ्नो नाम अंकित गमलामा बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए। विद्यालयले किताबी ज्ञानलाई व्यवहारिक जीवनसँग जोड्दै विद्यार्थीहरूमा प्रकृतिप्रति उत्तरदायी बनाउन यो कार्यक्रम ल्याएको जनाएको छ।

​विद्यालयका प्रधानाध्यापक प्रकाश अधिकारीले यस कार्यक्रमले विद्यार्थीहरूमा केवल सैद्धान्तिक ज्ञान मात्र नभई व्यवहारिक सीप, अनुशासन र प्रकृतिप्रतिको दायित्व विकास गर्ने विश्वास व्यक्त गर्नुभयो । "हामीले विद्यार्थीलाई किताबमा मात्र बिरुवाको बारेमा पढाउँथ्यौँ, अब उनीहरू आफैँले माटोको व्यवस्थापन र बिरुवाको हेरचाह गर्नेछन्," अधिकारीले भन्नुभयो ।

​अतिरिक्त क्रियाकलाप संयोजक थकदेवी जुग्जालीका अनुसार यो अभियानलाई कक्षाकोठाको सिकाइसँग पनि जोडिनेछ । बिरुवाको वृद्धि प्रक्रिया, जैविक मलको प्रयोग र माटोको गुणस्तरबारे विषय विज्ञहरूसँग समन्वय गरी प्रयोगात्मक शिक्षामार्फत विद्यार्थीलाई बुझाइनेछ ।

विद्यालयका अनुसार प्रत्येक गमलामा सम्बन्धित विद्यार्थीको नाम लेखिएको छ । उक्त गमला र बिरुवाको रेखदेखको सम्पूर्ण जिम्मेवारी विद्यार्थी स्वयंलाई दिइएको छ । बिरुवाको उत्कृष्ट स्याहार गर्ने र राम्रोसँग हुर्काउने विद्यार्थीलाई विद्यालयले प्रोत्साहनस्वरूप विशेष पुरस्कार प्रदान गर्ने योजना समेत अघि सारेको छ ।

​वाखेतका अगुवा कृषक तथा विद्यालय व्यवस्थापन समितिका सदस्य मोतिलाल रोकाले यो अभियानले विद्यालय परिसर मात्र नभई समुदायमा पनि सकारात्मक सन्देश दिने बताउनुभयो । उहाँले भन्नुभयो, "यहाँ सिकेको सीप विद्यार्थीले आफ्नै घर र समुदायमा पनि विस्तार गर्नेछन्, जसले वाखेतलाई नै स्वच्छ र हरियाली बनाउन मद्दत पुग्नेछ ।"

विद्यालय व्यवस्थापन समितिले यस कार्यक्रमलाई दीर्घकालीन रूपमा निरन्तरता दिने निर्णय गरेको छ । यसै अभियानको निरन्तरता स्वरूप आगामी फागुन १० गते साँझ ५ बजे विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ (PTA), शिक्षकहरू र पूर्व विद्यार्थी मञ्चको संयुक्त सहभागितामा ‘फूल रोपण कार्यक्रम’ आयोजना गरिने संयोजक जुग्जालीले जानकारी दिनुभयो ।


​प्रजातन्त्र दिवसको अवसरमा सुरु गरिएको यो रचनात्मक कार्यले विद्यालय–समुदाय सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

Post a Comment

0 Comments