विद्योदय आधारभूत विद्यालयमा एक हप्ते योग शिविर सम्पन्न

 म्याग्दी । विद्योदय आधारभूत विद्यालयमा सञ्चालन गरिएको एक हप्ते योग शिविर शुक्रबार सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थीको अनुशासन, एकाग्रता र सकरात्मक सोच विकास गर्न ध्यान र योग अत्यन्त उपयोगी हुने भन्दै कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा वक्ताहरूले जोड दिए ।


समापन कार्यक्रमका प्रमुख अतिथि बेनी नगरपालिका वडा न १० का वडा अध्यक्ष मस्बीर रोकाले विद्यार्थी जीवनमा योगलाई अनिवार्य अभ्यासका रूपमा लिनुपर्ने बताउनुभयो । “विद्यार्थीले दैनिक जीवनमा योग अपनाउन सके उनीहरू मानसिक, सामाजिक र शैक्षिक रूपमा सक्षम बन्छन् । विद्यालयले सुरु गरेको यो अभियान नमूना कार्यक्रमका रूपमा अघि बढ्न सक्छ,” उहाँले भन्नुभयो ।


कार्यक्रमका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष टिका बहादुर पाइजाले योगलाई विद्यालयको नियमित गतिविधिमा रूपान्तरण गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँका अनुसार, “विद्यार्थीको शैक्षिक र व्यवहारिक अनुशासन सुधार गर्न योग महत्वपूर्ण छ, हामी यसलाई निरन्तरता दिन्छौं ।”


शिविरका योग गुरु सिर्जना पन्तले विद्यार्थीले एक हप्ताभर सिकेका अभ्यास तथा प्रगतिबारे जानकारी दिँदै योगप्रति देखिएको सक्रियता प्रशंसनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो “विद्यार्थीको अनुशासन, उत्साह र समर्पण प्रशंसनीय छ । उनीहरूले निरन्तर अभ्यासलाई दैनिकीमा उतार्न सके अझ प्रभावकारी परिणाम देखिनेछ ।”



शिक्षक–अभिभावक संघका अध्यक्ष नारायण रोकाले विद्यालयले सञ्चालन गरेको कार्यक्रम जीवन उपयोगी भएको बताउँदै अभिभावकको तर्फबाट पूर्ण सहयोग रहने आश्वासन दिनुभयो। उहाँले भन्नुभयो “यस्ता कार्यक्रमले विद्यार्थीलाई किताब बाहिरको व्यवहारिक शिक्षासँग जोड्छ, जुन अत्यन्त जरुरी छ ।” विद्योदय बाल क्लब अध्यक्ष सुप्रिया पाइजाले योगले मन शान्त बनाउने, तनाव कम गर्ने र अध्ययनमा एकाग्रता बढाउने अनुभव सुनाउनुभयो । “हामी विद्यार्थीको आत्मविश्वास र मानसिक सुदृढतामा योगले ठूलो परिवर्तन गरेको छ,” उहाँले भन्नुभयो ।

कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष टिका बहादुर पाइजा, स्वागत मन्तव्य शिक्षक थकदेवी जुग्जालीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन शिक्षक सुजन पुनले गर्नुभएको थियो ।



शिक्षक, अभिभावक तथा स्थानीयको उल्लेखनीय सहभागिता रहेको सो कार्यक्रममा विद्यार्थीहरूले योगका विभिन्न अभ्यासहरू पनि प्रदर्शन गरेका थिए ।  विद्यालयका सूचना अधिकारी अमृता रोका जिसीका अनुसार विद्यालयको पहलमा सञ्चालन गरिएको योग शिविरले विद्यार्थीको व्यवहार, अनुशासन तथा शैक्षिक एकाग्रतामा सकारात्मक परिवर्तन देखिएको छ ।

Post a Comment

0 Comments